भन्सार छली अवैध सुनको कारोबार गर्ने तीन जना पक्राउ


काठमाडौं – अवैध रुपमा भन्सार छलि सुनको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा भन्सार छली सुनको कारोबार गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-८ बस्ने २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४३ वर्षीय सन्तोष परियार र तनहुँ भानु नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २५ वर्षीय अन्जिल गुरूङ रहेका छन् ।

हिमालय एयरलाइन्सको उडान मार्फत कतारबाट नेपाल आएका व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोहमद दिलसादलाई पाइन्टको कम्मरको भागमा टिस्यु पेपरले फोल्ड गरी लुकाइ छिपाइ राखेको ६९ ग्राम ८ सय ९० ग्राम तौल भएको सुनको ब्रास्लेट १ थान र ११ ग्राम ६ सय ५० ग्राम तौल भएको बेरूवा औँठी १ थानसहित काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त सुन ओसारपसार गर्ने कार्यमा संलग्न रहेका सन्तोष र अन्जिललाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया