देशभर मनसुन सक्रिय, शनिवारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना


काठमाडाैं – हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ। यसको प्रभावले  देशभर साधारणतया बदली रहेको माैसम पर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुन सक्रिय रहेकोले गएरातिदेखि धरै ठाउँमा पानी परिरहेको छ । विशेषगरी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले पर्सि शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएकोले सतर्कताका लागि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले हिजो निकालेको बुलेटिन अनुसार नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ । कर्णालीका डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङ जिल्ला भने न्यून जोखिममा परेका छन् ।

प्रतिक्रिया