टिकटकमाथिको प्रतिबन्ध हट्यो, खुल्न केही समय लाग्ने


काठमाडाैं –  सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ ।  हिजो बसेको मन्त्रिपरिषद् बैठकले करिब एक वर्षदेखि बन्द रहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अरु चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको जानकारी दिए । निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले त्यसबाहेक पनि चार शर्तहरु पूरा गर्नुपर्ने उनले बताए ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने शर्त राखिएको छ ।

टिकटकले यी शर्तहरु स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरिएको सञ्चारमन्त्री गुरुङले बताए । उनका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ ।

टिकटक लगायतका सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न नपाउने सरकारले जनाएको छ । सामाजिक सद्भाव भड्काएको भन्दै अघिल्लो वर्ष असोजमा सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया