आज हरितालिका तीज मनाइँदै, शिवालयहरूमा बिहानैदेखि चहलपहल


काठमाडौं – आज भाद्र शुक्ल तृतिया अर्थात हरितालिका तीज । आजको दिन हिन्दु नारीहरूले निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदैछन् । तीजमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण र पतिपत्नीको दीर्घायु प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।

अघिल्लो दिन राति दर खाएर आज तीजको दिन व्रत बसेर शिव-पार्वतीको पूजा गर्ने चलन छ । यस दिन महिलाहरू आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तीजको व्रत बस्नुपर्ने मान्यता छ ।

तीजको अवसरमा अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस् भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।

आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी महादेवलगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ ।

शनिबार गणेश चौथी तिथि हो । भोलिको दिन भगवान् गणेशको आराधना हुन्छ । त्यस्तै आइतबार ऋषिपञ्चमी भएकाले महिलाहरूले उक्त दिन नदी, तलाउ, कुन्डमा गएर विधिपूर्वक नुहाइधुवाइ गर्ने र अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गर्छन् ।

प्रतिक्रिया