दुईवटा गाडीमाथि ढुंगा खस्यो, पाँचजना घाइते


काठमाडाैं – चितवनको नारायणगढ-मुग्लिङ सडकखण्डमा माथिबाट ढुंगा खस्दा दुईवटा गाडीमा सवार पाँच जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिवार राति ढुंगा खसेर लाग्दा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेमा बर्दियाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् । घाइतेहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य छ । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

काठमाडौंबाट बर्दिया गइरहेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ जाँदै गरेको बाप्र०६-००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको हो । घाइते सबै बसका यात्रु रहेका छन् ।

माइक्रोबसका यात्रुलाई भने केही नभएको बताइएको छ । दुवै बसमा ठूलो क्षति नभएकाले ती गन्तव्यतर्फ लागेको प्रजिअ यादवले बताए ।

प्रतिक्रिया