देशभर शान्तिपूर्ण र व्यवस्थित मतदान : निर्वाचन पर्यवेक्षण समिति

काठमाडाैं – निर्वाचन पर्यवेक्षण समिति नेपाल (जिओक) ले प्रतिनिधिसभा सदस्य चुनावमा छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ ।

चुनावकाे प्रारम्भिक अनुगमनपछि समितिले काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै निर्वाचन व्यवस्थापन र मतदाताको व्यवहारमा विगतको तुलनामा सुधार आएको निष्कर्ष निकालेको हो । चुनावमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सबै वर्ग तथा समुदायका मतदाताहरूको उत्साहवर्द्धक सहभागिता देखिएको छ ।

विगतका चुनावकाेहरूको तुलनामा यस पटक राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार बढी संयमित, सहयोगी र शान्त पाइएको पर्यवेक्षणले देखाएको छ । मतदान केन्द्रहरूमा कर्मचारी र दलका प्रतिनिधिहरूबीच पनि सौहार्दपूर्ण वातावरण रहेको पाइएको छ ।

जिओकले ३६ जिल्लाका २ सय ५० पालिकामा राष्ट्रिय तथा जिल्लास्तरका गरी ४०० पर्यवेक्षक परिचालन गरेको थियो । समितिको प्रारम्भिक प्रतिवेदनअनुसार धेरैजसाे मतदान केन्द्रहरू तोकिएको समय बिहान ७ बजेदेखि नै सञ्चालनमा आएका थिए ।

पर्यवेक्षणका क्रममा मतदाताहरूमा उम्मेदवार र चुनाव चिह्नबारे आधारभूत सूचनाको कमी रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । शान्तिपूर्ण मतदान भए पनि केही प्राविधिक र व्यवस्थापकीय समस्याहरू देखिएका छन् । टाढाबाट आउनुपर्ने मतदाताहरू गाडीको अभावले मतदानबाट वञ्चित हुनुपरेको पाइएको जिओकको भनाइ छ । कतिपय मतदान केन्द्रहरू अझै पनि अपाङ्गतामैत्री हुन सकेका छैनन् ।

दोलखाको तामाकोशी र सुनसरीको धरानमा मतदान शुरू गर्दा केही सामान्य विवाद देखिए पनि सर्वदलीय बैठकबाट समाधान गरी मतदान शुरू भएको थियो । मतदाता परिचयपत्र भए पनि नामावलीमा नाम नहुने वा परिचयपत्र नहुँदा मतदान गर्न नपाउने जस्ता समस्याहरू पनि केही ठाउँमा देखिएका छन् ।

जिओकले चुनाव प्रक्रिया र व्यवस्थापनमा भएको सुधारलाई लोकतन्त्रको सुदृढीकरणका लागि शुभ सङ्केतका रूपमा लिएको छ । निर्वाचन आचारसंहिताको पालना सन्तोषजनक रहेको र व्यवस्थापनमा भएका सुधारले चुनावलाई थप विश्वसनीय बनाएको समितिको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *