उपत्यकामा निषेधाज्ञा कडा पार्ने तयारी

काठमाडौं – कोरोना भाइरस संक्रमण फेरि बढेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा कडा पार्ने तयारी थालिएको छ। साउन २७ पछि निषेधाज्ञा थप गर्ने र त्यसपछिको निषेधाज्ञा अलि कडा पार्ने कि भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताएका छन् ।

‘यस विषयमा हामी (तीन जिल्लाका सीडीओ) भोलि छलफलमा बस्छौं,’ प्रजिअ पराजुलीले भने, ‘संक्रमण बढेकाले केही क्षेत्र सीमित गर्ने कि भन्ने सोचिरहेका छौं ।’

यसअघि घोषित निषेधाज्ञाको अवधि यही साउन २७ गते मध्यराति सकिँदै छ । कुन–कुन क्षेत्रमा कडाइ गर्ने भन्ने विषयमा चाहिँ अहिल्यै तय भइनसकेको, भोलि छलफलपछि मात्रै भन्न सकिने प्रमुख जिल्ला अधिकारी पराजुली बताउँछन् । भोलिको छलफलपछि केही क्षेत्रमा कडाइ गर्ने वा अहिलेकै अवस्थामा छाड्ने टुंगो लाग्ने उनको भनाइ छ ।

पछिल्लो पटक कोरोनाका कारण आइतबार एकै दिन ५५ जनाको मृत्यु भएको छ । जुन संख्या ४६ दिन यताकै उच्च हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गत शनिबार भिडिओ सन्देश जारी गर्दै कोरोनाको तेस्रो लहरका लक्षण देखिन थालेको जानकारी गराउँदै अति आवश्यक नपरेसम्म घरबाट बाहिर ननस्किन आम नागरिकलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *