आज सार्वजनिक हुँदै ‘नमस्ते पे’, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी


काठमाडौं – लामो समयको प्रतिक्षापछि मोबाइल वित्तीय सेवा ‘नमस्ते पे’ आज सार्वजनिक हुँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन आजदेखि गर्न लागेको हो ।

सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे ‘नमस्ते पे’ को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जुन नेपालका अन्य भुक्तानी सेवाप्रदायक भन्दा धेरै हो ।

‘नमस्ते पे’ बाट अनलाइन र अफलाइन मोबाइल वालेट सेवा लिन सकिने जानकारी दिँदै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रयाेगकर्ताले मोबाइलबाट आर्थिक कारोबारको नयाँ अनुभव लिनसक्ने बताए ।

सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प उपलब्ध गराएर प्रारम्भिक चरणकाे व्यवसायकि सञ्चालन गरिने छ । तत्कालका लागि राष्ट्रिय वाणािज्य बैंकमा खाता हुनेहरूले यो सेवा प्रयोग गर्नसक्ने राष्टिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बताए ।

प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्नेछन् । सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन् । बाँकी कुन कुन सेवा उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले मंगलबार नै जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया