आज रेबिजविरुद्धको अन्तर्राष्ट्रिय दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं – आज रेबिजविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष ‘रेबिजः फ्याक्ट्स, नट फियर’ अर्थात रेबिज सत्य हो, डर होइन भन्ने नारा तय गरिएको छ।

स्वास्थ्य मन्त्रालय अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हरेक वर्ष हजारौंको संख्यामा कुकुर तथा अन्य जनावरले टोकेका मानिस अस्पताल आउने गरेका छन्। कतिपयले अस्पताल नगएरै ज्यान गुमाउने गरेका पनि छन्।

नेपालमा २०७६/२०७७ मा ५२ हजार ६ सय १० जना कुकुरले टोकेका मानिस खोप लगाउन अस्पतालमा पुगेको तथ्यांक छ। यो संख्या एक दशककै बढी हो। यो अवधिमा कत्ति जनाको रेबिजबाट ज्यान गयो भन्ने तथ्यांक छैन। तर पछिल्लो ६ वर्षमा ८७ जनाको रेबिजको कारण ज्यान गएको महाशाखाले जनाएको छ।

रेबिज जनावरको टोकाइका क्रममा र्‍यालबाट सर्ने प्राण घातक रोग हो। त्यसको संक्रमण स्नायु प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउने गर्दछ।  यो रोग संक्रमित कुकुर, बिरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्छ। रोग लागेको जनावरको र्‍याल घाउमा परेमा वा त्यस्तो जनावरको जुठो खाएमा पनि रेबिज रोग सर्छ।

जनावरले टोकेमा तत्काल साबुन पानीले घाउ धोएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ। रेबिज विरुद्धको खोप बेलैमा लगाएमा यो रोगबाट बच्न सकिन्छ। रेबिज विरुद्धको खोप काठमाडौंस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निशुल्क लगाउन पाइन्छ। नीजि स्वास्थ्य संस्था तथा औषधि पसलहरूमा पनि यो खोप पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *