एक लाख ६० हजारमा आफ्नै श्रीमती वेश्यालयमा बेच्ने २ पक्राउ

काठमाडौं – एक लाख ६० हजार रुपैयाँ लिएर आफ्नै श्रीमती बेचबिखन गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। प्रहरीका अनुसार ३४ वर्षीय चन्द्रबहादुर तामाङ (नाम परिवर्तन) ले २६ वर्षीया श्रीमतीलाई सो रकम लिएर बेचेका हुन् । उनीहरूका पाँच सन्तान छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ०७१ सालमा एक लाख ६० हजार रुपैयाँ लिई श्रीमानले श्रीमतीलाई एक जनाको जिम्मा लगाएका थिए । सोही क्रममा पासाङ तामाङले काम लगाइदिन्छु भनी बालाजुको होटेलमा लगी एक महिलाको जिम्मा लगाएको खुलेको छ ।

ब्युरोका अनुसार ती महिलाले घरायसी काममा मासिक १० हजार दिन्छु भन्दै आफ्नो कोठामा लगेर तीन दिनसम्म राखी भिनाजु भनिएका व्यक्तिलाई बोलाई जिम्मा लगाएर पठाएको अनुसन्धानबाट खुलेको छ । उनै भिनाजुले सुनौली नाका हुँदै रेलमार्गबाट भारतको नयाँ दिल्लीस्थित म्हेन्डो तामाङको घरमा पुर्‍याएको र म्हेन्डो तामाङले तीन दिनसम्म आफ्नो घरमा राखी एक जना मान्छेको जिम्मा लगाएर आग्रामा रहेको वेश्यालयमा पुर्‍याई आठ महिनासम्म वेश्यावृत्तिमा लगाएको पाइएको छ ।

नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा ०७८ जेठ ३१ गते उनको उद्धार गरिएको थियो । फरार प्रतिवादीमध्ये श्रीमानसँगै नुवाकोटको साबिक घ्याङफेदी गाविस–५ का पासाङ तामाङलाई समेत ब्युरोले पक्राउ गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *