चाडपर्व लक्षित बजार अनुगमनः २ मिठाई पसल सञ्चालकलाई जरिवाना


काठमाडौं – नियम विपरीत सञ्चालित दुई मिठाई पसल सञ्चालकलाई रु ३० हजार जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाले तिहार पर्वलाई लक्षित गरी आज गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले पसल सञ्चालकलाई जरिवाना गरिएको हो ।

चावहिलको पूजा स्वीट हाउसलाई रु २० हजार तथा ‘गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाट’लाई रु १० हजार जरिवाना गरिएको कामपाको कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिए । पसल नवीकरण नगरी सञ्चालन गरेको, स्वास्थ्य मापदण्ड पालना नगरिएको, सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्य बस्तु बिक्री गरेको तथा अनुमति नलिइ मिठाइजन्य खानेकुरा प्याकेजिङ गरेको पाइएपछि सञ्चालकद्वयलाई जरिवाना गरिएको हो ।

अनुगमनकै क्रममा पूजा स्वीट हाउसबाट उपभोग्य मिति गुज्रिएका २५० ग्राम तौल भएका हल्दिराम ब्राण्डका ५८ प्याकेट र गुप्ता स्वीट एण्ड चाटबाट हल्दिराम ब्राण्डकै २५ प्याकेट जफत गरिएको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सानाभन्दा पनि मझौला पसल सञ्चालकले गुणस्तरीय खाद्यबस्तु विक्री वितरणमा ध्यान नदिएको पाइएको बताए । सो क्रममा सन्तोष स्वीट्सले प्रयोग गर्दैआएको पाँच लिटर खान अयोग्य तेल नष्ट गरिएको थियो ।

प्रतिक्रिया