यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्वः सप्तरङ्गी टीका लगाएर मनाइँदै

काठमाडौं – आज नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका पर्व दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११: ०२ मिनेटमा उत्तम रहेको छ ।  भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ।  शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

सप्तरङ्गी टीका भनी विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा भनी शास्त्रमा उल्लेख गरिएको छ ।

आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्मदिदी बहिनी बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत छ । दिदीबहिनी नहुनेका लागि हरेक वर्ष आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा सामुहिक टिका लगाउने चलन छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *