आज उधाैली पर्व मनाइँदै, काठमाडाैं उपत्यकामा सार्वजनिक बिदा
काठमाडाैं – आज मंसिर शीर्ष शुक्ल पूर्णिमा । किराँत समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमिस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।
प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा छ ।
किराँत समुदायका राई, लिम्बु, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गइ उभौली पर्व मनाएको किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ। पूजापछि साकेला नाचिन्छ ।
नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भन्ने सन्देश दिइन्छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना दिएकी छिन् ।
उनले उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको बताएकी छिन् ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिँदै किराँत समुदायको पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भइ आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सरकारले उधाैली पर्व, याेमरी पुन्हीकाे अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडाैं उपत्यकामा भने सार्वजनिक बिदा दिएकाे छ।