कोरोनाको खोप छल्न के-के गरे ? काहीँ छोरा अपहरण, कतै जोडे नक्कली हात ! अझै जानाजान मृत्यु


काठमाडौं – हामीकहाँ कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन तछाडमछाड छ । १२ वर्षभन्दा माथिका बालबालिकालाई पनि कोरोना भाइरसको खोप लगाउन अभिभावकहरुले स्कुल तथा खोप केन्द्रसम्म लगिरहेका छन् । तर युरोपेली मुलुक स्पेनमा भने एकजना आमाले आफ्ना दुई छोराहरुलाई कोरोना खोप लगाउन नदिनका लागि अपहरण गरेकी छिन् ।

स्पेनको सेभिएमा बस्ने एक व्यक्तिले आफ्नी भूतपूर्व पत्नीमाथि आफूहरुका दुई छोरा अपहरण गरेको आरोप लगाए । छोराहरुलाई कोभिड भ्याक्सिन लगाउनबाट रोक्नका लागि भूपू पत्नीले अपहरण गरेको भन्दै उनले प्रहरीमा उजुरी दिए, गत डिसेम्बरको उत्तरार्धतिर ।

प्रहरीले छोराहरु अपहरणको आरोप लागेकी ४७ वर्षे महिलाको खोजी गरिरहेको बेला ती महिलाले अन्ततः गत बुधबार प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन् । १४ र १२ वर्षका दुई छोराहरुलाई अनधिकृत रुपमा लगेको र आफूले नोभेम्बर ४ देखि छोराहरुलाई नदेखेको भनी ती पुरुषले उजुरी गरेका थिए ।

छोराहरुलाई खोप लगाउने नलगाउने भन्ने निर्णय गर्ने अधिकार बाबुको रहेको भनेर अदालतले फैसला गरेको केही दिनपछि आफुले पूर्वपत्नीबाट एउटा चिठी प्राप्त गरेको र चिठीमा पूर्वपत्नीले छोराहरुलाई स्कुलबाट निकाल्ने योजना उल्लेख गरेको उनले बताएका छन् ।

अन्ततः बुधबार ती महिला आफ्ना दुई छोरासहित प्रहरीसमक्ष उपस्थित भइन् र उनीहरुलाई अदालतमा पेश गरियो । अदालतले ती महिलालाई हिरासतमै राख्न आदेश दिएको छ भने दुई छोरालाई बाबुको जिम्मा लगाइएको छ ।

स्मरण रहोस् स्पेन लगायतका युरोपेली देशहरुले गत डिसेम्बर १५ देखि नै ५ वर्षमाथिका बालबालिकालाई कोभिड १९ भ्याक्सिन लगाउन सुरु गरिसकेका छन् । स्पेनमा १२ वर्षमाथिका ९० प्रतिशत मानिसले कोभिड १९ को पूर्ण खोप प्राप्त गरिसकेका छन् ।

दन्त चिकित्सकको कर्तूत : कोरोनाको खोप छल्न शरीरमा जोडे नक्कली हात !

धनी देशका मानिसहरु आफ्नै सुरक्षाका लागि लगाउनैपर्ने कोरोना भाइरसविरुद्धको खोप समेत छल्नका लागि कस्ता कस्ता बहाना गर्दछन् भन्ने उदाहरण इटालीका एकजना दन्त चिकित्सकले प्रस्तुत गरेका छन् ।

ती डेन्टिस्टले कोरोना खोप नलगाइकन खोप कार्ड (सुपर पास) प्राप्त गर्नका लागि नक्कली हात नै तयार गरी झण्डै सिलिकनबाट बनेको त्यहीँ नक्कली हातमा खोप लगाए । खोप लगाइदिने नर्सको चलाखीका कारण ती दन्त चिकित्सकको कर्तूत पर्दाफास भयो र उनीमाथि आपराधिक कार्यको अभियोगमा सजाय हुने सम्भावना रहेको छ ।

इटालीको उत्तरी सहर बिल्लामा यो घटना भएको हो । स्थानीय नर्स फिलिप्पा बुआका अनुसार ती व्यक्ति खोप लगाउनका लागि आए र सुई घोँच्न आफ्नो पाखुरा अगाडि सारे । सुई लगाउनका लागि पाखुराको कपडा माथि सार्दा ती नर्सलाई शंका लाग्यो । किनकी उनको पाखुराको छाला असामान्य, चिसो र गमजस्तो थियो भने रङ पनि निकै फिक्का ।

शुरूमा त उनले ५७ वर्षका ती वृद्धको सायद एउटा हात काटेर नक्कली हात जोडिएको र उनले अर्को सद्दे पाखुरामा खोप लगाउनुपर्नेमा भुलबस नक्कली पाखुरा दिएको हुन सक्ने अनुमान गरिन् । तर जब नर्सले ती व्यक्तिको शर्ट खोलिदिइन् तब ती व्यक्तिले आफ्नो शरीरमा एउटा सिलिकनको नक्कली पाखुरा जोडेको देखिन् ।

वास्तवमा सिलिकनको प्रोस्थेटिक हात प्रयोग गरेर कोरोना खोप छल्ने उनको योजना रहेछ । नर्सले हतारमा र ख्यालै नगरी सिलिकनकै पाखुरामा सुई लगाइदिने आशा उनको रहेछ । नर्स फिलिप्पासँग ती दन्त चिकित्सकले आफूलाई कोरोना खोप लगाउने इच्छा नभएको तर खोपकार्ड (सुपर हेल्थ पास) चाहिने भएको हुँदा त्यस्तो काम गरेको स्वीकार गरेका छन् ।

सोमबारदेखि इटालीमा रेष्टुरेन्ट, सिनेमा, रंगमञ्च लगायतका सार्वजनिक स्थानमा छिर्नका लागि खोप लगाएको सुपर हेल्थ पास अनिवार्य हुनुपर्दछ । स्मरण रहोस् खोप लगाउन अस्विकार गरेका कारण ती दन्त चिकित्सक यसअघि नै आफ्नो कामबाट बर्खास्त भइसकेका छन् ।

उनीमाथि ठगीमा थप कानूनी कारवाही गर्नका लागि ती नर्स र खोप केन्द्रका अन्य कर्मचारीहरुले मुचुल्का कागजात तयार गरी अभियोजकहरु समक्ष पेश गरिसकेका छन् । तर आफ्नो कर्तूत पर्दाफास भैसकेपछि ती दन्त चिकित्सक चाहीँ खोप केन्द्रबाट फरार भैसकेका थिए ।

जानाजान संक्रमण सार्ने गायिकाको मृत्यु

जानाजान आफूलाई कोभिड–१९ को संक्रमण गराएकी चेक रिपब्लिककी गायिका हाना होर्काको ५७ वर्षको उमेरमा मृत्यु भएको छ ।उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेश पाउने ‘रिकभरी पास’ लिनका लागि होर्काले आफूलाई संक्रमित गराएकी थिइन् । त्यस्तो पास चेक सरकारले हालै कोभिड भएर निको भएका मानिसलाई दिने गरेको छ ।

रेकका अनुसार होर्काले कोभिड–१९ विरुद्धका कुनै पनि खोप लगाएकी थिइनन् । संक्रमण पुष्टि भएको केही दिनपछि उनले सामाजिक सञ्जालमा आफूलाई सञ्चो भइरहेको जनाएकी थिइन् । तर त्यसको दुई दिनपछि उनको मृत्यु भएको रेकले जनाए । होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध लोक गायिका थिइन् ।

रेकले आफू र बुबालाई संक्रमण भए पनि आमाले कुनै दूरी कायम नगरी तथा स्वास्थ्य मापण्डको बेवास्ता गर्दै सँगै बसेकी थिइन् । रेक र उनका बुबाले कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएका भए पनि क्रिसमसका बेला संक्रमण भएको थियो । ‘हामीलाई संक्रमण पुष्टि भएपछि उहाँ एक साता अलग्गै बस्न सक्नुहुन्थ्यो । तर जतिबेला पनि हामीसँगै बसिरहनुभयो,’ बीबीसीसँग उनले भनेका छन् ।

चेक रिपब्लिकमा क्याफे, मदिरालय, सिनेमा हलजस्ता भीडभाड हुने स्थानमा प्रवेश पाउन कोभिडविरुद्धको खोपको दुवै मात्रा लगाएको कार्ड वा हालै कोभिड संक्रमण भई निको भएको प्रमाण पेस गर्नुपर्छ ।

रेकका अनुसार आइतबार उनले आफू अब निको भएको भन्दै घुम्न जाने तयारी गरिरहेकी थिइन् । तर त्यति नै बेला अचानक ढाड दुखेपछि उनी ओछ्यानमा सुतिन् । ‘त्यसको १० मिनेटमै उनको सास अवरुद्ध भयो र सबै सकियो,’ छोराले भने ।

१ करोड ७ लाख जनसंख्या रहेको चेक रिपब्लिकमा बुधबारसम्म कम्तीमा २८ हजार जना कोभिडबाट संक्रमित भइसकेका छन् । चेक रिपब्लिकमा ६३ प्रतिशतले मात्रै कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लिएका छन् । युरोपेली संघका अन्य देशमा भने खोप लगाउने ६९ प्रतिशतभन्दा बढी छन् ।

पछिल्ला दिनहरूमा अनिवार्य खोपको नियम ल्याउन लागिएको भन्दै राजधानी प्रागसहित विभिन्न सहरमा हजारौं मानिसले प्रदर्शन गरेपछि भने सरकारले बुधबार मात्रै अनिवार्य खोप लगाउने योजना निश्चित वर्गका लागि स्थगित गरिएको जनाएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया