शेयर बजारकाे ओरालो यात्रा जारी, कारोबार रकम सवा २ अर्बमै सिमित


काठमाडौं – साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा झरेको छ । नेप्से ०.०७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने स्थिर रहेको छ ।

कारोबारमा आएका कूल २३३ वटा कम्पनीको ४० लाख १७ हजार ४ सय २९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ ।

बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ३७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । आज तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ६.४७ प्रतिशतले बढेर ६ सय २५ रूपैयाँ पुगेको छ ।

यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ४.४६ प्रतिशतले घटेर १६ हजार ५१ रूपैयाँमा झरेको छ ।

प्रतिक्रिया