सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै जलविद्युत् कम्पनीको मूल्यमा वृद्दि


काठमाडौं – जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेपछि सेयर मूल्यसमेत बढ्न थालेको छ । लगानीकर्ताको आकर्षण बढेसँगै १० महिना अघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेका अधिकांश जलविद्युत् कम्पनीका सेयर मूल्य पछिल्लो समय सयदेखि डेढ सय प्रतिशतसम्म बढेका हुन् ।

चालू आर्थिक वर्ष अर्थात् साउन महिनाको पहिलो कारोबारका दिन दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १७ वटा जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर अंकित मूल्यभन्दा निकै माथि रहेका छन् ।

बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् । एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो ।

चालू आर्थिक वर्षको पहिलो कारोबार अर्थात् गत १३ जुलाईमा ९५८ दशमलव ३५ अंकमा रहेको उपसूचक हाल आएर १ हजार ६ सय ७ अंकले बढेर १९ अप्रिलमा २ हजार ५ सय ६६ दशमलव १७ मा पुगेको छ ।

हाल नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा ३८ वटा जलविद्युत् कम्पनीको सेयर सूचीकृत छन् । यीमध्ये अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ८ सय ७५ मा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबारको नेप्सेको तथ्यांकअनुसार माउन्टेन इनर्जीको ७ सय ८२, चिलिमे हाइड्रोपावरको ६ सय ४४, राधी विद्युत् कम्पनीको ४ सय ८७, रसुवागडी हाइड्रोपावरको ४ सय ७४, सान्जेन जलविद्युत् कम्पनीको ४ सय ५७, बुटवल पावर कम्पनीको ४ सय १९ रुपैयाँमा सेयर कारोबार भएको छ ।

३ सयभन्दा माथि कारोबार गर्ने नौ कम्पनी छन् । चालू आर्थिक वर्षको सुरुवातमा १७ वटा कम्पनीको सेयर मूल्य अंकित मूल्य भन्दा निकै कम रहेका थिए । तथ्यांक हेर्ने हो भने समग्र बजारकै विकास भएको छ ।

प्रतिक्रिया