२३ पुग्यो लकडाउन हुने जिल्लाको संख्या 


काठमाडौं – कोरोना संक्रमण तीव्र बनेसँगै लकडाउन हुने जिल्लाको संख्या पनि थपिंदै जान थालेको छ । सरकारले थप पाँच जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यो सँगै देशभर निषेधाज्ञा लागू भएका जिल्लाको संख्या २३ पुगेको छ ।

सरकारले जाजरकोट, रुकुमपश्चिम, डडेल्धुरा, दार्चुला र झापा जिल्लामा निषेधाज्ञा जारी गरेको हो । जाजरकोटमा आज (शनिबार) देखि निषेधाज्ञा लागू भएको छ । दार्चुला, रुकुम पश्चिम, डडेल्धुरा र झापा जिल्लामा भने आइतबारदेखि निषेधाज्ञा लागू हुने सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । केही जिल्लामा आंशिक र कतिपय जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । आवश्यकता हेरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले फरक–फरक आदेश जारी गरेका हुन् ।

जाजरकोटमा वैशाख १८ गतेदेखि २५ गतेसम्म, रुकुम पश्चिममा आइतबारदेखि ३१ गतेसम्म, डडेलधुरामा २५ गतेसम्म र झापामा २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । झापामा भने सवारी साधन जोरबिजोर प्रणाली अनुसार चलाउन पाइने आदेशमा उल्लेख छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, बागलुङ, कालीकोट, बाँके, बर्दिया र सुर्खेतमा यसअघि नै निषेधाज्ञा लागू छ ।

वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले तराई र काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमित ५ सय र हिमाली र पहाडी जिल्लामा २ सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको थियो ।

प्रतिक्रिया