दुई दिने सार्वजनिक बिदाको व्यापारी संघद्वारा विरोधमा

काठमाडाैं – नेपाल समुद्रपार निकासी पैठारी संघले साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको विरोध गर्दै यसलाई फिर्ता लिन माग गरेको छ।

साताको दुई दिन बिदा दिंदा सरकारका प्रशासनिक निकाय, ब्यांक तथा वित्तीय संस्था र बीमा कम्पनीसँग कारोबार गर्नुपर्ने उद्योग, व्यवसायको क्षेत्रमा झन् कठिनाइ उत्पन्न हुने सघंले जनाएको छ। ‘यसै पनि ढिलासुस्ती हुने सरकारी कार्यालयको काममा दुई दिनको बिदाले अझै ढिला हुन गई विदेशी लगानीका उद्योग, व्यवसाय स्थापना तथा सञ्चालन सम्बन्धी प्रक्रिया लम्बिने सम्भावना छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सरकारले आगामी जेठ १ गतेबाट लागू हुने गरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

संघले भने ब्यांक तथा वित्तीय संस्था लगातार दुई दिन बन्द हुँदा आयातीत वस्तुको भन्सार जाँचपास प्रक्रिया लम्बिन गई औद्योगिक कच्चा पदार्थ एवं अन्य वस्तु आयातकर्ता व्यवसायीमाथि विलम्ब शुल्क र डेमरेजको भार थपिने ठहर गरेको छ। त्यसै गरी ब्यांक तथा वित्तीय संस्था मार्फत हुने आर्थिक कारोबार पनि प्रभावित भई उद्योग, व्यवसायमा नकारात्मक असर पर्न सक्ने संघले जनाएको छ।

दुई दिने बिदाले कर्मचारीको कार्यसम्पादनलाई चुस्त-दुरुस्त तथा छिटोछरितो बनाउन नसक्‍ने र अहिलेकै जस्तो सुस्त कार्यसम्पादन कायम रहेमा यो निर्णयले मुलुकलाई दीर्घकालसम्म घात गर्ने संघको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *