प्रमुख सचेतक भट्टराई भन्छन् – शेयर बजारलाई पुनरुत्थान गर्न आवश्यक छ

काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुँजी बजारमा देखिएकाे समस्या समाधान गरी शेयर बजारलाई पुनरुत्थान गर्न सरकारसँग माग गरेकाे छ । प्रतिनिधि सभाको आज मङ्गलवारकाे बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजी बजार सङ्कटपूर्ण अवस्थामा गुज्रिरहेको बताए ।

पुँजी बजार धराशायी हुँदा सिङ्गो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानी जोखिममा परेको भन्दै उनले पुँजी बजारको पुनरुत्थान गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘लाखौँ व्यक्ति आबद्ध भएको, लाखौँ नेपालीले भरोसा गरेको शेयर बजारलाई हामीले कुनै न कुनै रूपमा पुनरुत्थान गर्न आवश्यक छ । त्यसका लागि अर्थ मन्त्रीले, अर्थ मन्त्रालयले कदम उठाएर भए पन, राष्ट्र बैंकले आफ्नो नीतिहरूलाई पुनरावलोकन गरेर भए पनि शेयर बजारलाई पुनरुत्थान गर्न एमाले माग गर्दछ।’

प्रमुख सचेतक भट्टराईले शेयर बजारका लगानीकर्ताको सुरक्षा सरकारले गर्नुपर्ने बताए । उनले पुँजी बजार सुधारको माग राखी अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको भन्दै माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *