राष्ट्रिय सम्मानका साथ ‘कान्छो आरोही’ तामाङको अन्त्यष्टि
काठमाडौं – कीर्तिमानी ‘कान्छो आरोही’ को रेकर्ड राख्न सफल शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । काठमाडौंको स्वयम्भूमा आज बौद्ध परम्परा अनुसार तामाङको अन्त्यष्टि गरिएको हो ।
तामाङको अन्तिम बिदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पुगेका थिए । मन्त्री श्रेष्ठलेराष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट तामाङप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा गत असार २३ गते बिहान निधन भएको थियो । पर्यटन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो ।
नेपालको पर्वतारोहणबारे अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धधन गर्न र नेपालका हिमाल प्रचार गर्न तामाङले अतुलनीय योगदान गरेको मन्त्री श्रेष्ठले बताए ।
तामाङले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सन् १९७३ मे ५ का दिन सगरमाथा आरोहण गरेका थिए । तामाङकै पहलमा नेपाल पर्वतारोहण सङ्घको स्थापना भएको हो ।