शान्ति सैनिकले चलाएकाे गोली लागेर कंगोमा २ जनाको मृत्यु


काठमाडाैं – कंगोको पूर्वी भागमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूले गोली चलाएपछि दुईजनाको मृत्यु भएको छ । आइतवार भएको उक्त घटनामा कैयौं मानिस घाइते भएका छन् । युगान्डा सीमा नजिक घटना भएको हो ।

राष्ट्रसंघको सैन्य इकाइ मोनुस्कोले आफ्ना केही शान्तिसैनिकहरू गोली प्रहारको घटनामा संलग्न रहेको स्वीकार गरेको छ । उनीहरूलाई पक्राउ गरिसकिएको पनि उसले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिसैनिकको गोली लागी दुईजनाको मृत्यु भएकोमा आक्रोश व्यक्त गरेका छन् । यस घटनामा दोषीलाई जवाफदेही बनाइने उनको भनाइ छ । कंगोको बेनी नामक क्षेत्रमा घटना भएको हो ।

प्रहरीको पोशाक लगाएको एकजना र सेनाको पोशाक लगाएको अर्को व्यक्ति राष्ट्रसंघका शान्तिसैनिकहरूतर्फ आक्रामक रूपमा अघि बढेपछि उनीहरूले गोली चलाएको बताइएको छ । कंगोमा अहिले शान्तिसेनाविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ । एजेन्सी

प्रतिक्रिया