असोज पहिलो साताबाट अग्रिम टिकट बुकिङ्ग खुलाउने तयारी


काठमाडौं – दशैँका लागि घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् खुलाउनका लागि गृहकार्य सुरु भएको छ । यसका लागि यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच पहिलो चरणको वार्ता सम्पन्न भएको हो।

भदौ १५ गते भएको पहिलो चरणको वार्ताअनुसार असोजको पहिलो साताबाट नै अग्रिम टिकट बुकिङ् खुल्ने सम्भावना रहेको राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

उनले भने, ‘अग्रिम टिकट बुकिङ् लागि पहिलो चरणको वार्ता भदौ १५ गते सम्पन्न भएको छ । पहिलो चरणमा भएको वार्तामा असोज पहिलो साताबाट टिकट बुकिङ् खुलाने गरी छलफल चलेको थियो । तर, अब फेरि बस्ने बैठकले असोजको कति गतेबाट अग्रिम टिकट बुकिङ् खुल्ने भन्ने तय गर्नेछ ।’

दशैँ, तिहार र छठजस्ता पर्वको लागि उपत्यकाबाहिर जाने मानिसको सङ्ख्या धेरै हुने भएकाले सरकारले समन्वय गर्नुपर्ने महासङ्घले जनाएको छ। कतिपय सडकहरूको अवस्था बिग्रेकाले सरकारले तत्काल सडकको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

त्यसैगरी यस पटक अनलाइन टिकटको पनि धेरै नै प्रयोग हुने अनुमान गरिएको छ । अग्रिम टिकट खुल्ने अघिल्लो दिन नै टिकट काट्ने स्थान नयाँ बसपार्क, गौशाला, चाबहिल, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की र सुनधारालगायतका स्थानमा मध्यरात नै यात्रु लाइनमा बस्नुपर्ने बाध्यता विगतमा थियो। अब भने मोबाइलमार्फत् टिकट काट्ने व्यवस्था छ।

दशैँका लागि २० लाख यात्रुले काठमाडौं उपत्यका छाड्छन् भने झण्डै ६० हजार सार्वजनिक यातायात सञ्चालन हुने अनुमान छ।

प्रतिक्रिया