बागमतीमा यातायात ‘टाइम कार्ड’ लागू
काठमाडौं – बागमती प्रदेशमा सवारी दुर्घटना न्यूनिकरण गर्न ‘टाइम कार्ड’ लागू गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालयको विशेष सक्रियतामा प्रदेशअन्तरगतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको हो।
चाडबाडको समयमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न टाइम कार्ड लागू गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता दिपक रेग्मीले जानकारी दिए। उनका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार थप जिल्लामा टाइम कार्ड लागू गरिएको हो।
सिन्धुली हुँदै जाने बीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टायमकार्ड लागू गरिएको थियो। थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा टाइम कार्ड लागू गरिएको हो।
मुग्लिङ नारायणगढ खण्ड, पूर्वपश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, त्यसैगरी पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाट र बीपी राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङसम्म ‘टाइम कार्ड’ थप गरिएको हो।
टायम कार्ड लागू गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको प्रहरीले जनएको छ।