आज कोजाग्रत पूर्णिमा : शक्तिपीठमा आज मेला, कात्तिक स्नान सुरु

काठमाडाैं – आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आज महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिइ सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि सुरु हुन्छ । आकाशदीप भगवान विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ । कोजाग्रत पूर्णिमाको अवसरमा देशका विभिन्न शक्तिपीठमा आज मेला पनि लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *