पश्चिमी वायुको सामान्य प्रभाव, केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ विभागले जनाएको छ।
विभागका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। शुक्रबार राति पनि प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।