५० हजार वर्षपछि पृथ्वीबाट देखिँदै पुच्छ्रेतारा

काठमाडौं – हरित रङ्गको पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट अवलोकन गर्न सकिने भएको छ। शुक्रबारबाट पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको हो।

सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक एवम् खगोलविद् डा. सनतकुमार शर्माका अनुसार ५० वर्षअघि हिमयुगमा नेन्दरथल तथा पूर्वज होमो सेपिन्स पृथ्वीमा विचरण गरिरहेको अवस्थामा हरित रङ्गको पुच्छ्रेतारा देखापरेको थियो।

सी/२०२२ इ ३ (जेडटिई) नामकरण गरिएको यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा शुक्रबार सूर्यको सबैभन्दा नजिक पुग्नेछ। सूर्यको नजिक पुगेपछि यसको अवलोकन गर्न सकिनेछ।

नेपालबाट पनि यो दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवताराको नजिकै पुस अन्तिम सातादेखि माघ महिनाको दोस्रो सातासम्म साँझ सात बजेपश्चात् अवलोकन गर्न सकिनेछ। उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्नेछन् भने फेब्रुअरीपश्चात् दक्षिणी गोलार्धमा बस्नेले पनि अवलोकन गर्न सक्ने शर्माको भनाइ छ।

उक्त पुच्छ्रेतारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरको रूपमा देखिनेछ। हरियो रङ्गको देखिनुमा डाइकार्बन अणुको समुपस्थितिले गर्दा भएको हो। यस पुच्छ्रेतारालाई वाइनाकुलर तथा टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिने उनको भनाइ छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *