हराएका तीन सय ६० मोटरसाइकल हस्तान्तरण

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

आज मात्र २२ सवारीसाधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। कार्यालयले आज १६ मोटरसाइकल र छ स्कुटर हस्तान्तरण गरेको हो।

चालू आवमा ट्राफिक कार्यालयमा सवारीसाधन हराएको भनेर एक हजार दुई सय ८९ निवेदन परेकामा तीन सय ८७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ। सो मध्ये दुईपाङ्ग्रे तीन सय ६० र अन्य २७ सवारीसाधन छन्।

ट्राफिक प्रहरीले चालू आवमा मोटरसाइकल चोरी कार्यमा संलग्न २६ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि विभिन्न वृत्तमा बुझाइसकेको प्रवक्ता भट्टले बताए।

लाखौँ रकम तिरेर खरिद गरेको सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरेमा सवारीसाधन चोरी हुनबाट जोगाउन ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *