देशभर मौसम बदली, केही ठाउँमा हिमपात : महाशाखा


काठमाडौं – अहिले काठमाडौं उपत्यकासहित देशका सबैजसो ठाउँमा मौसम बदली भएर धेरै ठाउँमा पानी परिरहेको छ । हिजोदेखि पानी पार्न थालेको मौसमी प्रणालीका कारण आज पनि तराई र पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । पछिल्लो १२ घण्टामा कर्णालीको तल्लो डुङेश्वरमा १० दशमलव २ मिलिमिटर, लुम्बिनीको नेपालगञ्ज विमानस्थलमा ११ दशमलव ४ मिलिमिटर, बबै जलाधारको पदम पुरमा २५ दशमलव ८ मिलिमिटर र सल्यान बजारमा १९ दशमलव ९ मिलिमिटर पानी परेको छ ।

यस्तै, दाङमा १३ दशमलव ८ मिलिमिटर, बर्दघाटमा १६ मिलिमिटर, बाग्मतीको सिन्धुलीगढीमा ३ दशमलव ४ मिलिमिटर र कोशी प्रदेशको दमकमा १८ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यो बेला धेरै ठाउँमा भारी वर्षा भएको देखिएको जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जानकारी दिए । अहिले सक्रिय प्रणाली भोलि दिउँसोसम्म नै रहने उनले बताए ।

भोलि दिउँसो पछि मौसम केही सफा भए पनि पर्सि फेरि अर्को प्रणाली सक्रिय भइ देशभर फैलने र बुधवारपछि मात्र मौसम सफा हुने जलवायु विज्ञ उप्रेतीले बताए। अहिले पश्चिमी वायुको कारण भारतको जम्मु कश्मिरमा एउटा न्यून चापीय अवस्था बनेकोले अहिले नेपालमा वर्षा तथा हिमपात भइरहेको र आसाममा अर्को प्रणाली सक्रिय हुन थालेकाले पर्सिदेखि पुनः मौसम बदली हुने उनले बताए  ।

प्रतिक्रिया