भोजपुर उडेको नेपाल एयरलाइन्सको जहाजमा पुन: समस्या


काठमाडौं – काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता ल्याइएको छ ।

आज (बिहीबार) बिहान भोजपुरको लागि उडेको नाइन एन एबीटी कल साइन रहेको ट्वीनअटरमा केही समस्या देखिएपछि काठमाडौं नै फिर्ता गरेर सुरक्षित अवतरण गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । ट्वीनअटरको ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि उडेको केही समयमा नै फिर्ता गरिएको बताइएको छ ।

‘ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको हो’, विमानस्थल स्रोतले भन्यो । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने स्रोत बताउँछ ।

बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो । १६ जना यात्रु लिएर उडेको जहाज केही समयमै काठमाडौंमै अवतरण गराइएको थियो । नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ ।

यसअघि गत मंसिर २ मा काठमाडौंबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको थियो ।

प्रतिक्रिया