बाजुरामा फेरि भूकम्प, एकै महिनामा मात्रै ६ पटक धक्का


काठमाडाै – बाजुरामा भूकम्प गएको छ । बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो महिनामा मात्रै बाजुरा केन्द्रविन्दु भएर ६ पटक भूकम्प गइसकेको छ ।

यसअघि गएको २२ गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । गएको १५ गते पनि ५ दशमलव ९ र ४ दशमलव १ गरी दुई पटक भूकम्प गएको थियो । त्यस्तै १४ गते ४ दशमलव ९ र १० गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालको पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् । ‘भूकम्पको कुनै पूर्वानुमान हुँदैन । तर, पनि पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै छ’ भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

उनका अनुसार पश्चिमी क्षेत्रमा थुप्रिएको शक्ति अहिले गइरहेको स– साना भूकम्प वा परकम्पपछि तितरबितर पनि हुनसक्छ र नहुन पनि सक्छ, दुवै सम्भावना छ । त्यसैले जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दाले विशेष सावधानी अपनाउन उनको सुझाव छ ।

प्रतिक्रिया