एमाले केन्द्रीय कमिटी बैठक आजबाट बस्दै
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बाट शुरु हुँदैछ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ ।
केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने एमालेको तयारी छ । केन्द्रीय कमिटी बैठक आजदेखि तीन दिन (३० गते) सम्म चल्ने जनाइएको छ ।
बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता पनि मुछिएपछि बैठकमा यसबारे पनि छलफल हुनेछ । पक्राउ पुर्जी जारी भए पनि एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् ।
रायमाझीको विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताएका छन् । रायमाझीलाई एमालेले निलम्बन भने गरिसकेको छ ।
शुरूमा बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमकमा बस्ने तय भएको थियो । तर, संसद् बैठकमा सहभागी हुन कठिन हुनेलगायत कारण देखाउँदै बैठक केन्द्रीय कार्यालय च्यासलमै बस्ने एमालेले निर्णय गरेको थियो ।