भोलिदेखि काठमाडाैंमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन निषेध


काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिएको समयसिमा भित्र ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जनाएको छ ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को पूर्वसन्ध्यामा काठमाडौं महानगरका मेयर शाहले सच्चाउन तीन दिनको समय दिएका थिए । उनले लेखेका थिए, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ ।’

मेयर शाहले सामाजिक सञ्जालमा लेखेको त्यो पोस्टले भारतमा समेत तरंग ल्यायो । नेपालको चलचित्र विकास बोर्डले उक्त संवाद ‘म्यूट’ गर्न लगाएर मात्रै चलचित्र प्रदर्शनका लागि अनुमति दियो । तर शुक्रबारदेखि उक्त संवाद नसच्चाइ नेपालका हलहरुमा फिल्म ‘आदिपुरुष’ प्रर्दशन भइरहेको छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘आदिपुरुष’ले शुक्रबार र शनिबार दुई दिनमा एक करोड एक लाख रुपैयाँ नेट (झण्डै डेढ करोड ग्रस) कमाइ गरीसकेको छ ।

आइतबार बालेनले दिएको समय सकिएपछि सोमबारबाट फिल्म रोक्ने तयारी  गरिएको हो । रोके नगर प्रहरीले बल प्रयोग गरेर रोक्ने महानगर स्रोतको भनाई छ ।

काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् । बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचार समेत गरेको थियो ।

तर, सञ्चार मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन ।

प्रतिक्रिया