रुसी सेनामा रहेका ६ नेपालीकाे ज्यान गएकाे पुष्टि (विज्ञप्तिसहित)


काठमाडाैं – रुसी सेनामा रहेका ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि भएकाे छ । परराष्ट्र मन्त्रालयले साेमवार एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि गरेकाे हाे ।

ज्यान गुमाउनेहरूमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाकाे पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।

नेपाल सरकारले ज्यान गुमाएकाहरूकाे शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारलाई आग्रह गरेकाे छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।

रुसी सेनामा भर्ना भई अहिले युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक पहल भइरहेकाे पनि मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया