वर्षा र हिमपातसँगै देशभर चिसो बढ्यो


काठमाडौं – यो वर्षको हिउँदे वर्षासँगै नेपालमा चिसो बढेको छ । पश्चिमी वायु सक्रिय भएपछि आइतबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली भेगमा सुरु भएसँगै देशभर चिसो बढेको जनाएको छ ।

देशभरको अधिकतम र न्यूनतम तापक्रम दुवैमा गिरावट आउँदा हिमाली र पहाडी भेगमा बढी जाडो महसुस भएको छ । मधेश र तराई भेगमा हुस्सु कुहिरोसँगै शीतलहर सुरु भएको महाशाखाले जनाएको छ । पश्चिमी वायु बढी सक्रिय रहेको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा आइतबार रातिदेखि नै हल्का वर्षा भइरहेको महाशाखाको तथ्यांक छ । सोमबारदेखि त्यो फैलँदै बागमती प्रदेश हुँदै पूर्वतिर सर्ने क्रम सुरु भएको छ । यसले पूर्वी भेगका हिमाल र पहाडी भू-भागमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च हिमाली भेगको रारा क्षेत्र, जुम्ला, हुम्ला, मुस्ताङलगायतका स्थानमा लगातार हिमपात भइरहेको छ । उच्च पहाडी र हिमाली भेगका गण्डकी, कर्णाली, सुदूरपश्चिममा चिसो एक्कासि बढ्दा जनजीवन प्रभावित बनेको छ । गण्डकी प्रदेशको जोमसोममा दुई दिनयता सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ ।

जोमसोममा माइनस ५.५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । देशका अन्य भूभागमा पनि न्यूनतम तापक्रममा गिरावट हुने क्रम जारी छ । काठमाडौंमा ७.० डिग्री सेल्सियसबाट तल झर्दाे क्रममा रहेको छ । जुम्लामा ३.० डिग्री सेल्सियस, ओखलढुङ्गामा ८.० डिग्री सेल्सियसबाट तल झर्ने क्रममा रहेको छ । तराई–मधेशका भूभाग विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज, धनगढीलगायतका क्षेत्रमा १३ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम झरेको छ ।

यो वर्ष विगतका वर्षभन्दा छिटो चिसो बढेको हो । पहिलो वर्षासँगै हिमपात भएकाले चिसो बढेको महाशाखाले जनाएको छ । पूर्वी भेगमा भने मौसम बदली देखिए पनि वर्षाको सम्भावना कम छ । पूर्वी भेगको मधेश र कोशी प्रदेशमा भारतको बङ्गालको खाडीमा बनेको चक्रवातका कारण थप बदली बढेर चिसो बनाउने सम्भावना छ तर वर्षा नै गराइहाल्ने अवस्था चक्रवातले गराउने छैन । भारतकै उत्तराखण्ड क्षेत्रमा निर्मित न्यूनचापीय क्षेत्रको असरले नेपालमा हिउँदे वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलबारदेखि तापक्रममा अझ गिरावट आउने भन्दै मौसम परिवर्तनबाट जोगिन सरोकारवाला निकायले सचेतना फैलाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया