जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ
काठमाडौं – जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् ।
उदयपुरको १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।