नागढुङ्गा सुरुङमार्ग छिचोलियो, तीन मिनेटमै थानकोटबाट सिस्नेखोला पुगिने

काठमाडाैं – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोहकाबीच आज सुरुङ छिचोलिएको नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए ।

सुरुङ छिचोल्नका लागि दुई मिटर मात्र बाँकी रहेकोमा आज प्रधानमन्त्रीको उपस्थितिमा विस्फाेट गराएर छिचोल्ने काम भएको उनले बताए ।काठमाडाैंको चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ साढे दुई किलोमिटरभन्दा धेरै अर्थात् दुई हजार छ सय ६७ मिटर रहेको छ ।

आयोजनाको उद्धार सुरुङ भने गएको साउनमै छिचोलि सकिएको छ । मुख्य सुरुङ आज छिचोलिए पनि आयोजना निर्माण सम्पन्न भएर गाडी चल्न भने अझै एकदेखि डेढ वर्षसम्म लाग्न सक्ने उपनिर्देशक दुमरुले बताए ।

नागढुङ्गा सुरुङ मार्ग आज छिचोलिँदै

सुरुङ सञ्चालनमा आएपछि काठमाडाैंकाे थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ । अहिले काठमाडाैंतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिनेमा अब सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने दुई किलोमिटर छ सय ८८ मिटरको दूरी तीन मिनेटमै पुगिने आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *