बागमतीसहित कोशी, मधेश र गण्डकीमा भारी वर्षाको सम्भावना


काठमाडाैं – अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

आउँदो २४ घण्टामा सबै प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढी पहिरोको जोखिमबाट जोगिन महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो ६ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । गएराति सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, कास्कीलगायत ठाउँमा पानी परेको छ ।

 

प्रतिक्रिया