देशका धेरै ठाउँमा आज माैसम सफा, यी प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना


काठमाडाैं – काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा आज माैसम सफा छ । तर मनसुनी वायुको प्रभाव कायमै रहेकाले कोशी, मधेश र बाग्मती प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको हो ।

महाशाखाका अनुसार  आज दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी प्रदेशका केही ठाउँ, बाग्मती र गण्डकी प्रदेशका पहाडी थोरै ठाउँ र बाँकी प्रदेशका पहाडी एक÷दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलिदेखि चार वटा प्रदेश कोशी, मधेश, बाग्मती र गण्डकीमा पानी पर्ने अनुमान छ । भोलिदेखि शनिवारसम्म नै कोशी, मधेस र बाग्मती  प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो अवधिमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना नरहेपनि गएको बिहीवारदेखि भएको घनघोर वर्षाका कारण जनधनको क्षति भएको छ ।

साधारणतया भोलिदेखि मनसुन बाहिरीने अवधि भए पनि केही दिन अझै लम्बिने सम्भावना छ । मुख्य पर्व दशैँसम्म नै पानी पर्ने सम्भावना रहेकाले सकेसम्म यात्रा नगर्न र गर्नेपर्ने अवस्थामा सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया