चलचित्र विकास बोर्ड अध्यक्षमा ६ जनाको आवेदन

काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम म्याद बुधबारसम्म ६ जनाको आवेदन परेको बोर्डका सदस्य सचिव तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजेशकुमार थापाले जानकारी दिए।

अध्यक्ष पदका लागि चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्व बोर्ड सदस्य अर्जुनकुमार डंगोलले आवेदन दिएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन भनेको थियो । आवेदन दिएकाहरूको योग्यता पुगे वा नपुगेको परीक्षण हुन बाँकी छ । त्यसपछि मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गर्ने बोर्डका सदस्य सचिव थापाले बताए ।

यीमध्ये सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ । समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्छ । यसअघि बोर्डको अध्यक्ष अभिनेता भुवन केसी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *