सेयर बजारमा नयाँ रेकर्ड, झण्डै ३० अर्बको कारोबार


काठमाडौं – सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।  हालसम्मकै उच्च कारोबार हुँदै झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भरएपछि नयाँ रेकर्ड राखेको हो ।

साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार कारोबार खुलेको केही मिनेटमा नै सेयर बजारले ३ हजारको विन्दु पार गरेको थियो भने ६ अर्बमाथिको कारोबार भएको थियो ।

अन्तिम समयसम्म तीव्र उतारचढावका बिच अन्ततः नेप्से सूचक ४३.०५ अंकले बढ्दै ३ हजार ८१ विन्दुमा अड्डिन पुगेको छ । यता कारोबार भने २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमाथि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

बिहीबार बैंकिङ समूहको उपसूचक ५.५६ अंकमाथिले बढ्दा समग्र बजार नै प्रभावित बन्न पुगेको छ । यस्तै डेभलपमेन्ट बैंक समूह, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक हुँदा बाँकी ५ वटा उपसूचक मात्र ऋणात्मक भएका छन् ।

बिहीबार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्न पुगेको छ ।

प्रतिक्रिया