पृथ्वी राजमार्गको तनहुँ खण्डमा दैनिक साढे चार घण्टा सडक बन्द, काम सुरू


काठमाडाैं – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेदेखि देउराली सडक खण्डमा दैनिक साढे चार घण्टा बन्द गरी काम थालिएको छ ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन गएरातिदेखि यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा गाडीको आवतजावत बन्द गरेर काम हुनेछ ।

यो सडक खण्ड दुई चरणमा बन्द गरी काम थालिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ ।

त्यस्तै राति १ बजेदेखि साढे १ बजेसम्म सडकमा गाडीको आवागमन खुला हुनेछ भने दोस्रो चरणमा राति साढे १ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरी निर्माणको काम गरिनेछ । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी गाडी पास गराइने पाण्डेले जानकारी दिए ।

छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक गाडीबाहेक अरु गाडी पूर्ण रुपमा बन्द रहने छन् । मुग्लिन पोखरा सडक खण्डअन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् ।

त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको छ । व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।

प्रतिक्रिया