सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का, शपथग्रहणको तयारी
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बन्ने पक्का भएको छ। प्रधानमन्त्री बनाउने निष्कर्षसंगै अहिले बिहान शीतल निवासमा शपथग्रहण हुने स्रोतले जनाएको हो।
संविधानको बाधा अड्काउ फुकाउ व्यवस्था टेकेर कार्कीलाई सरकारको नेतृत्व दिन लागिएको बताइएको छ। जेनजीका प्रतिनिधिहरूले बिहीबार राति पनि कार्कीलाई सम्पर्क गर्दै मुलुकको अभिभावकत्व लिन आग्रह गरेका थिए। कार्कीले कानुनी आधार सहज भए नेतृत्व लिन तयार रहेको तर त्यसका लागि राष्ट्रपतिसँग प्रत्यक्ष छलफल आवश्यक हुने बताएकी थिइन्। त्यसपछि जेनजी प्रतिनिधिहरूले प्रधानसेनापतिसँग समन्वयको आग्रह गरेका थिए।
उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए। सोही छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ।
यसअघि साँझ मात्र राष्ट्रपति पौडेलले कानुनविद् विपिन अधिकार, भिमार्जुन आचार्यलगायतसँग नयाँ सरकार गठनको प्रक्रिया र त्यसका सम्भावित कानुनी पक्षबारे परामर्श गरेका थिए। पूर्वप्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिँदा देखिन सक्ने संवैधानिक चुनौतीबारे पनि छलफल भएको जनाइएको छ।
