गतिशील सोँचसहितको नेतृत्व जरुरी
काठमाडाैं – फरक पुस्ता को फरक सोँच हुन सक्छ । तर, फरक सोँचको समन्वय विन्दु छ, त्यो हो गतिशील सोँच । जब, अविभावक जस्तो नेतृत्वमा घमण्ड र अहंकार साथै निरंकुश्ताले भरिएको स्थिर सोँच हावी हुन्छ, विचारमा दुरदर्शीता हुँदैन, फरक पुस्तालाई समेट्न सक्ने क्षमता हुँदैन, दमनकारी भूमिकामात्रै हावी हुन्छ ।
धानबारीमा पटेका पड्काएर चरा तर्साए जस्तो तुच्छ क्रियाकलाप मात्र देखिन्छ चाहे त्यो परिवार होस या समाज, चाहे क्षेत्र वा राष्ट्र नै किन नहोस्, अनि शुरु हुन्छ विद्रोह नयाँ पुस्ताबाट पुरानो पुस्तालाई प्रश्न गरेर “निरंकुश्ता के का लागी ?”, अनि सुझाव दिएर “गतिशील सोँच बनाएर सबैलाई समेटन सक्ने विचार लिएर आऊ” । अर्थात, विद्रोह कहिल्यै एक्कासी हुँदैन, समर्थन र सुझाव बिच जब सुझावलाई वेवास्ता गरी समर्थनलाई मात्र प्रसय दिएर नेतृत्व अगाडी बढ्छ, सुझावलाई दमन गर्न थाल्छ, तब लिन्छ उग्ररुप सुझावको विचारले, यही हो विद्रोह । हाम्रा युवाहरुले यानकी जेन्जी पुस्ताले यही गरेका हुन्, जसको लागी हामी अर्थात मिल्लेन्नीअल पुस्ताको पूर्णरुपमा समर्थन छ ।
विद्रोहमा विध्वंसात्मक क्रियाकलाप हुन्छ, अवसरवादी र नकारात्मक सोँच भएका समुहहरुको घुसपैठ हुन्छ, तर यी सबै परिस्थीतीको एउटै मूल कारण हुन्छ विगतमा रहेको नेतृत्वको निरंकुश्ता र दमनकारी स्थिर सोँच, जहाँ (नेतृत्वमा) समन्वयात्मक विचार मरेपछिको सम्वोधन बन्छ विद्रोह ।
म खाउँ मै लाउँ सुख सयल वा मोज म गरु
म हासुँ मै नाचुँ अरु सब मरुन दुर्बलहरु
भनि दाह्रा धस्ने अबुझ सठ देखि छकपरि,
चीता खित्का छोडि अभयसित हाँस्यो मरि मरि
— कवि शिरोमणि लेखनाथ पौडेल
आज नबोले किन बोल्ने ?
अहिले नगरे कहिले गर्ने ??
हामीले नगरे कसले गर्ने ???
स्थिति के रह्यो ?
नेपाल आमा रोई रहिन घर तहसनहस भयो,
अवसरवादीका लागि सिंहदरवार जल्यो,
पशुप्रवृतीका लागि सर्वोच्च अदालत जल्यो,
भ्रष्टाचारका लागि अख्तियार जल्यो,
अपराधिका लागि जेल जल्यो,
राजनैतिक दलका लागि के.पी. र देउवा पछाडि पर्यो,
छिमेकीका लागि प्रशासन भवन जल्यो अनि सिमानाको नक्सा जल्यो,
अन्तमा जेनजीको फाईदा सबैले उठाए ।
दुःखद् कुरा, एउटा रविका लागि हजारौ अपराधि छुट्नु,
आर्मी हेडक्वाटर अगाडि सिंहदरवार जल्नु,
कतै न कतै जेन्जीले व्यवस्थाको लागि दिएको जिवन समर्पणको फाइदा ठुलै वाह्य शक्तिले लियो ।अन्तमाः खरानी भयो देश ।
अब कसरी सम्हाल्ने ?
हामी निकाशको खोजीमा छौँ, विदेशी शक्ती भित्रिएर डेरा जमाउन आतुर छन्, जेन्जी युवाहरुको क्षमता र सबलपक्ष भएतापनि कतिपय संवैधानिक, राजनीतिक, कुटनीतिक, तथा कानुनी प्रक्रिया उनीहरुलाई बुझाउँदै अगाडी बढ्नु छ । सार्वभौम राष्ट्रको अस्तित्व जोगाउन, सुरक्षामैत्री समाज कायम गर्न र नेतृत्व व्यवस्थापनको लागि अब नेपाली सेना अन्तिम विकल्पको रुपमा रहेको छ । आशा गरौँ नपाली सेनाले सार्वभौम राष्ट्र बचाइराख्न दृढ र ऐक्यबद्ध भएर लाग्नेछ । जय नेपाल ।
कसैले पनि नेपाल भित्र या बाहिर रहेर अवसरवादी भुमिका ननिभाईयोस साथै अन्तर्राष्ट्रिय शक्तिको रुपमा कुनै पनि अवस्थामा आफै घुसेर डेरा जमाउने कोशिस नगरियोस । छिमेकीहरु छिमेकीकै रुपमा बस्दा उचित हुन्छ घरभित्रको सदस्य जसरी देखिन नखोजौँ ।
जेन्जीहरुलाई अनुरोध, आवश्यक परिवर्तनको विगुल बज्यो, ज्यानको आहुती दिइयो, घमण्डी र बौलाहा सरकारलाई घुँडा टेकाइयो, अब संयम भएर अगाडी बढ्नु पर्दछ । धेरै मत नबाझियोस्, नेपाली सेना सँग समन्वयात्मक भुमिकामा रहेर नयाँ सुरुवात गरौँ ।
नेपाली सेनालाई अनुरोध, सार्वभौम राष्ट्रको सेवक हुन पाउँदा तपाईहरुको भन्दा बढी अरुको सायदै गर्वले छाती ढक्क फुल्दो होला; तसर्थ, संयमित भएर राष्ट्रको सार्वभौमिकतालाई जाेगाइ राख्न दृढ रहनुहोला, शुभकामना । किनकी यो अन्तिम विकल्पमा पनि हामी चुक्यौँ भने छिमेकी आइ हाम्रो छातीमाथी आगो बालेर ताप्नेछन ।
आवश्यकता के ?
- विवादरहीत र दलगत संलग्नता नभएको तर समग्रमा संविधान, कानुन् र प्रशासनीक व्यवस्थाको सुझबुझ भएको व्यक्तीको मातहतमा अन्तरीम सरकारको गठन हुनुपर्दछ ।
- संविधान सभा सांसदको कार्यभार सम्हालेको व्यक्ति कुनै पनि मन्त्रालय अन्तर्गत मन्त्रि पदमा नियुक्त हुन नपाउने । किनकी संविधान र कानुन निर्माण गर्ने जिम्मेवारी र त्यस संविधान तथा कानुनको कार्यान्वयन गर्ने जिम्मेवारी फरक हुनुपर्छ जसले गर्दा कार्य सम्पादन प्रभावकारी बन्दछ ।
- तात्कालीन संसद विघठन साथै निवर्तमान प्रधानमन्त्रिको मातहतमा निर्माण भएका समितिहरु र राजनैतिक नियुक्ती अन्तर्गतका कर्मचारीहरु पूर्णरुपमा खारेज हुनुपर्दछ ।
- कुनै पनि नेतृत्व भ्रष्ट वा विवादित पाइएमा जनताले अस्वीकार गर्दै फिर्ता बोलाउन पाउने अधिकारको प्रावधान बनाइनु पर्दछ ।
- भ्रष्टचार र अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई फाँसीको सजाय अथवा कम्तिमा जन्मकैदको व्यवस्था गरिनुपर्दछ ।
- देशभरको कारागारमा व्यवस्थापन गरिएका कैदीहरुलाई सुरक्षा निकायको रोहवरमा देश निर्माणको कार्यमा लगाउनु पर्दछ । तलब र भत्ता दिएर कारागारभित्र सानो ठूलो, नयाँ पुरानो भनेर विभेदको वातावरण बन्न दिनु हुँदैन ।
- साथै सहयोगी र घुसरहित प्रशासनको सुरुवात हुनुपर्दछ ।
अन्तमा
योे विद्रोहमा ज्यानको आहुती दिने युवाहरुको आत्माले शान्ति पाओस, हार्दिक श्रद्धान्जली । घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना ।


