साफ यू-१९ – फाइनल पनि पुग्न सकेन नेपाल, उपाधि जित्ने लक्ष्य अधुरै


ढाका – साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू-१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ । याेसँगै नेपालकाे उपाधि जित्ने लक्ष्य अधुरै रहेकाे छ ।

पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरियो । आइतबार भएको आफ्नो अन्तिम खेलमा भारतसँग १-० ले पराजित भएपछि नेपाल फाइनल समेत पुग्न सकेन ।

ढाका जानुअघि राष्ट्रिय टिमकी सदस्य समेत रहेकी कप्तान तथा गोलकिपर अन्जना राना मगर र प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको लक्ष्य उपाधि जित्ने नै रहेको बताएका थिए ।

तर त्यो लक्ष्य पूरा नगरी नेपाली टोली स्वदेश र्फकने भएको छ । लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई १२-० को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल बाहिरिने औपचारिकता पूरा भएको थियो ।

आयोजक बंगलादेश अपराजित रहँदै ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुग्यो । चारमध्ये तीन खेल जितेको भारत ९ अंक जोडेर दोस्रो हुँदै फाइनल पुग्यो । अब बंगलादेश र भारतबीच फाइनल खेल हुनेछ ।

नेपाल भने २ जित, १ बराबरी र १ हारपछि ७ अंक जोडेर तेस्रो भयो । सम्भावित १२ अंकमध्ये नेपालले ५ अंक गुमाउँदा ७ अंक फाइनल पुग्न पर्याप्त भएन ।

प्रतिक्रिया