दुबईबाट अवैध सुन भित्र्याउने सातजना विमानस्थलबाट पक्राउ
काठमाडाैं – दुबईबाट नेपाल आउने क्रममा अवैध सुन भित्र्याउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ।
कपडामा खोल राखी खोलभित्र लेप बनाएर अवैध रुपमा सुन ल्याउने दुई जना र सम्पर्कमा रहेका पाँच गरी सात जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले जानकारी दिए।
त्रिभुवन विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट पक्राउ परेका उनीहरू रुपन्देहीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दीप चन्द ठकुरी, बाराकी निर्मला घलान, धनुषाका बरुण भक्त माथेमा, चीन तिव्वतका लोप्साङ ग्लाल्सेन, नवलपरासीका युवराज भुसाल र भारत दिल्लीका अमन राजपुत छन्।
उनीहरूबाट ८ सय ७८ ग्राम तेजाबी सुन बरामद भएको उनले बताए। उनीहरूलाई थप अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको कुँवरले जानकारी दिए।
त्यस्तै प्रहरीले डेढ महिना पहिला काठमाडौंमा एक व्यक्तिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई पनि पक्राउ गरेको जनाएको छ। त्यस्तै अवैध रुपमा हुन्डी कारोबार गर्ने जयकमल साहलाई ३७ लाख रुपैयासहित कालिमाटीबाट पक्राउ गरिएको कुँवरले बताए।