भारतले फेरि पठायाे मूल्य वृद्धिसहितको इन्धनको नयाँ सूची
काठमाडौं – इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।
निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा प्रति लिटर ६.५२, डिजेलमा १९.०३ र हवाई इन्धनमा १९.१९ रुपैयाँ बढेको छ ।
भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । यस्तै मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा लगात पुगेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
यो हालसम्मै उच्च मूल्य भएको निगमको भनाइ छ । नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेको मूल्यसँगै निगमको प्रतिलिटर घाटा पनि चुलिएको छ । अहिलेको बिक्री मूल्यअनुसार पेट्रोल र डिजेलमा घाटा प्रतिलिटर क्रमशः ३१ रुपैयाँ २८ पैसा र ३७ रुपैयाँ १६ पसा पुगेको छ ।
निगमका प्रवक्ता उपाध्यायले बिहीबार जारी गरेको विज्ञप्तिमा खाना पकाउने ग्याँसमा निगमलाई ७५१ रुपैयाँ १४ पैसा घाटा रहेको उल्लेख छ । नयाँ मूल्य सूची पनि निगमको अनुमानित १५ दिनको घाटा ४ अर्ब ८१ करोड ९१ लाख नाघ्ने अनुमान छ ।