‘केही तिताे यथार्थ : जसले गर्छ उसैले नकार्छ’


काठमाडाैं – मानव जीवनमा केही यस्ता सत्यताहरु हुन्छन्  जुन दैनिक अनुभव र महसुस गरिरहेकाे हुन्छ । तर आफैँले किन यस्ताे गरिरहेछु भन्ने विचार गरेकाे हुँदैन । यदि त्यही व्यवहार सँगैकाे अर्काे व्यक्तिले गरेमा उसलाई अपराधी नै ठहर गर्नसमेत पछि पर्दैन । यसै विषयमा केही विचारहरु निम्नानुसार छन्  ।

१. व्यक्ति अरुलाई जति अर्तिवुद्धि दिन्छ, तर ती सबै उपदेश आफैँले नै पालना गरेको हुदैँन ।

  • व्यक्तिले आफ्ना अनुभवका आधारमा पनि अरुलाई सुझाव दिइरहेकाे हुन्छ । आफैँले गरेका गल्तीबाट पाठ सिकेकाे हुन्छ र अरुबाट त्यस्ताे गल्ती नदाेहाेरियाेस् भन्नका लागि उपाय बताउँछ । यस अवस्थामा ती ज्ञान आफ्नै जीवनमा लागू नभएकाे हुन सक्छ ।

 

२. प्राय: व्यक्ति अरुले राम्राे भनिदियाेस् भन्न कै लागि आफू र आफ्नालाई दु:ख दिएरै पनि अर्कालाई खुसी बनाउने प्रयास गर्छन् ।

  • कहिलेकाँही तपाईँकाे खल्तीमा बेलुका घरमा तरकारी किन्ने पैसा छैन तर अचानक काेही साथी/इष्टमित्र भेट भयाे । यस्ताे अवस्थामा साथीले के भन्छ हाेला भनेर तपाईँ साथीसँगै चिया पिउन जानु भएकाे छ ? भाेलि बच्चालाई पिलाउने दुध किन्ने पैसा छैन तर घरमा पाहुना आयाे भनेर आज मासु किनेर ल्याउनु भएकाे छ ? यस्ताे बानी छ भने बुझ्नुस् कि तपाईँकाे जीवनमा पनि यो बुँदा मिल्छ ।

 

३. जाे व्यक्ति आफैँले अरुकाे पैसा (सम्पति) जति सक्दाे धुत्नुपर्छ/ सकेकाे तान्ने हाे भन्नेहरु नै कमाएकाे अरुलाई खुवाइस भन्न पछि पर्दैन ।

  • पछिल्लाे समय सामाजिक सञ्जालमा यस्ता घटनाका थुप्रै उदाहरणहरु देख्न सकिन्छ । समय अनुसार अवस्थामा परिवर्तन आउँनु समान्य प्रक्रिया हाे । मानिसहरु अनेकाैं सम्बन्ध बनाउने पनि परम्परादेखि नै चलिआएकाे रिती हाे । हाल प्रविधिमा आएकाे परिवर्नसँगै सम्बन्ध बनाउने तरिका पनि बदलिँदै गइरहेकाे छ । कतिपय व्यक्ति यस्ता हुन्छन् कि क्षणिक रमाइलाेकाे लागि बाेल्ने जसकाे कुनै अर्थ छैन । तर यसै भिडमा यस्ता व्यक्ति पनि हुन्छन्  जसकाे बाेली र हरेक वचनमा स्वार्थले भरिएकाे हुन्छ । यस्ता व्यक्ति जसले अर्काकाे सम्पतिमा र्‍याल चुहाएकाे हुन्छ नि उनीहरु अनावश्यक व्यक्तिसँग सम्बन्ध बनाउँछन् । अनि कहिले उपहार त कहिले आत्मियताकाे हक जमाउँदै सम्पति हात लगाउँन प्रयासरत देखिन्छन् । त्यस्ता व्यक्तिहरु नै कमाएकाे कसलाई खुवाइस भन्न पछि पर्दैनन् ।

 

४. बच्चाकाे हकमा : प्राय जसाे व्यक्तिहरु आमाबावुकाे अगाडि चेप्छन्, तिनीहरु नै पछाडि हेप्छन् ।

  • तपाईँ कतिले देख्नु भएकाे छ हाेला, कतिले त भोग्नु भएकै पनि छ हाेला । यदि कसैले केही कारणवस आफ्ना छोराछोरी आमा बावुबाट टाढा आफन्तसँग बस्नु भएकाे/ राख्नु भएकाे छ भने देख्नु भएकै हाेला । जबसम्म आमा बावु बच्चाहरु सँगै हुन्छन् तबसम्म उनीहरू कति नै चाटेर राखाैँला जस्ताे देखाउँछन् । तर जब साँच्चिकै ती बच्चाकाे हेरचाह गर्नुपर्ने र सम्हाल्ने बेला हुन्छ नी तब देखिन्छ सच्चाई । अब सुरु हुन्छ बच्चाकाे अगाडि तथानाम भन्ने, सुनाउने, जताउने । जस्तै :- पाल्न नसक्नेले किन जन्माउने, उनीहरुलाई  मस्ती हामीलाई सास्ती,,, यस्तै । त्यसकारण आफ्ना सन्तानलाई जाे कसैकाे भरमा छाेड्नु हुँदैन । यसले बच्चालाई आमा बावुप्रति नकरात्मक भावना पैदा गर्दछ । पछिल्लाे समय कामकाजी महिलाहरुले बच्चा अरुकाे भरमा छाेडेर हिड्नु पर्ने अवस्था धेरै देख्न पाइन्छ । यस्तै विभिन्न उद्देश्यले नातागाेता तथा इष्टमित्रसँग बच्चाकाे जिम्मा लगाएर छाेड्ने गरेकाे पाइन्छ ।

 

५.  प्राय अरुकाे अगाडि आफू  सही/ राम्राे बन्न अरुलाई नराम्राे बनाउने बानी हुन्छ । 

  • के तपाईँले महसुस गर्नु भएकाे छ ? कतिपय व्यक्तिहरु तपाईँकाे आँखा कै अगाडि कति कुरा बदलेर बाेल्छन् । हाे उनीहरु नै कहिल्यै आफ्नाे गल्ती मान्न तयार हुँदैनन् । जस्ताे : उनीहरु सधैँ त्यही व्यवहार गरिरहेका हुन्छन् तर जुन दिन तपाईँले त्यही व्यवहार उसैले जस्ताे गर्नुहुन्छ नी तब उसले उफ्री/उफ्री दुनियालाई सुनाउँछ । त्यसपछि सबै गल्ती तपाईँकाे भागमा पर्छ । जाे आफू केही गर्न सकिरहेका हुँदैनन् र अरु कहाँ चिप्लन्छ र खुट्टा तानेर लडाउँ भनेर चियाेचर्चाे गरिरहेका हुन्छन् ।

 

६. व्यक्ति प्राय आफूले गरेकाे जे पनि ठिक र अर्काले गरेकाे गलत भन्ने मानसिकताबाट ग्रसित हुन्छ ।

  • प्राय मानिस मैले गरेकाे ठिक छ भन्ने मान्यतामा रहेर कुरा गरेकाे पाइन्छ । यसकारण उसले जहिले अरुलाई तिमीले किन यसाे गरेकाे किन उसाे गरेकाे भन्ने प्रश्न गरिरहन्छ ? अझै भनाैँ तिमीले कत्ति पनि ठिक गरेनाैं मलाई हेर मैले कसरी गर्दैछु सम्म भन्न भ्याउँछ । तर के याे ठीक हाे त ? मानिस चेतनशील प्राणी भएकै हिसावले पनि कति सही कति गलत भन्ने साधारण चेतना उसमा हुन्छ भन्ने साेँच नभएकाे व्यक्ति नै अर्काले गरेकाे गलत भन्ने मानसिकताबाट ग्रसित हुन्छ । अरुलाई नियन्त्रण गर्ने काेशिस गर्छ र आफूले भने जस्तै गर्नु पर्दछ भन्ने साेचाइ राख्दछ ।

प्रतिक्रिया