प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ


काठमाडौं – ठूलो परिमाण  प्रतिबन्धित लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । यी मध्ये पन्ध्र जनालाई प्रहरीले उपत्यकाबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो । विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदको लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ ।

भदौ १६ गतेदेखि भदौ २० गतेको पाँच दिनभित्र ब्यूरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय८७ ग्राम, दुई सय ५२ एम्पुल र दुई किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताए । खनालका अनुसार- प्रतिबन्धित लागुऔषधको बजार मूल्य २९ लाख ९९ हजार चार सय रहेको छ ।

अवैध लागुऔषधसहित कारोबारमा सङ्लग्न रहेको आधारमा पक्राउ पर्नेमा ललितपुर भोलाखेल च्यासलका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर दुपाटका २९ वर्षीय अनिस महर्जन, ललितपुर भैँसेपाटीका ३३ वर्षीय प्रताप कार्कीसहित १५ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

चार किलो गाँजासहित पोखराबाट २ जना पक्राउ

यस्तै चार किलो गाँजासहित २ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-३० बरालथोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित स्याङ्जा घर भई हाल पोखरा रत्नचोक बस्ने १९ वर्षीय गणेश गुरूङ लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले ग.९ प ८२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया