साफ च्याम्पियनसिपको आगामी संस्करण भारतमा हुने
काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघले साफ च्यापम्पियनसिपको आगामी संस्करण भारतमा हुने भएको छ। साफले मंगलबार एक विज्ञप्ति जारी गर्दै साफ च्याम्पियनसिप–२०२३ भारतमा हुने जनाएको हो।
भारतीय फुटबल संघ (एआईएफएफ) को आग्रह अनुरुप भारतको कुन स्थानमा प्रतियोगिता हुने भन्ने १० मार्चमा मात्र निश्चित हुने साफले बताएको छ। साफको आसन्न १४औं संस्करण जुन २० देखि जुलाई तीनसम्म हुने तालिका छ।
प्रतियोगिता आयोजनाका लागि नेपालले पनि प्रस्ताव गरेको थियो। तर, साफले आयोजना अधिकार भारतलाई सुम्पिएको छ। सन् १९९३ देखि सुरु भएको च्याम्पियनसिपको हालसम्म १३ संस्करण सम्पन्न भइसकेको छ। जसमध्ये प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको भारतले आठ पटक उपाधि जितेको छ।
यसबाहेक, माल्दिभ्सले दुई पटक उपाधि जित्दा बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान एक पटक उपाधि जितेका छन्। नेपाल, भुटान र पाकिस्तानले भने हालसम्म च्याम्पियनसिपको उपाधि जित्न सकेको छैनन्। नेपाल पछिल्लो संस्करणमा पहिलो पटक फाइनलमा पुगे पनि भारतसँग पराजित भएको थियो।