सडकमै ट्राफिक प्रहरीको सुरक्षा सचेतना कार्यक्रम


काठमाडौं – ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले सडकै गएर सडक सुरक्षा सचेतना कक्षा सञ्चालन गरिएको जानकारी दिए।

ट्राफिक प्रहरीले नयाँ बसपार्कमा एक सय ५०, बौद्धमा एक सय १९, नागढुङ्गामा ९२, न्युरोडमा ७०, सुकेधारामा ६०, सोह्रखुट्टे र स्वयम्भूमा ५०/५०, कपनमा ३०, बूढानीलकण्ठमा २५, कीर्तिपुरमा २२, काँडाघारीमा नौ, थानकोटमा तीन र भैँसेपाटीमा दुईजना चालकलाई सडक सुरक्षा सचेतना दिइएको हो।

कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना तथा त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको प्रवक्ता भट्टले बताए।

यस्तै, तीव्र गति, आरक्षण सिट, रातोबत्ती, फुटपाथ पार्किङ, सडक लेनलगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको सो कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान नै चलाएर चालकसहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया